काठमाडौं- एयर अरेबियाले पिसिआर परीक्षण नगरेका १९ जना नेपालीलाई नेपाल ल्याएको छ। मंगलबार दिउँसो एयर अरेबियाले नेपाल ल्याएका १६१ जनामध्ये १९ जनाको पिसिआर परीक्षण नभएको भेटिएको हो।
पिसिआर परीक्षण नै नगरी ल्याइएका यात्रुलाई एयर अरेबियाकै खर्चमा होटल क्वारेन्टाइनमा राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।
एयर अरेबियाले पिसिआर परीक्षण गरी नेगेटिभ नतिजा आएका १४२ जना र आरडिटी नेगेटिभ नतिजा आएका १८ जना र कुनै परीक्षण नै नगरेका १ जना यात्रु नेपाल ल्याइएको भेटिएको छ। पिसिआर नेगेटिभ आएकालाई मात्रै नेपाल भित्र्याउने सरकारको निर्णय भए पनि पिसिआर परीक्षण नै नगरेका १९ यात्रुलाई नेपाल ल्याइएको छ।
'विदेशी विमान कम्पनीले एक्कासी पिसिआर परीक्षण नै नगरेका यात्रु ल्याएपछि के गर्ने भन्ने अन्यौल भयो। त्यसपछि वायुसेवा कम्पनीकै खर्चमा होटल क्वारेन्टाइन राख्ने भनेपछि पठाएका छौँ,' विमानस्थल स्रोतले भन्यो।
सरकारले पिसिआर नेगेटिभ आएका यात्रुलाई मात्रै नेपाल ल्याउने निर्णय गरेको छ। पिसिआर परीक्षण नगरेका यात्रु ल्याए सम्बन्धित वायुसेवा कम्पनीले नै खर्च व्यहोर्ने गरी होटल क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।