काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले रूसी राजदूतसँगको भेटमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणमा सहकार्य गर्न प्रस्ताव गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री नेम्वाङले उक्त प्रस्ताव गरेका हुन्।
नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकोभसँगको भेटमा मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको कम्तिमा पनि इनरुवा–बर्दिबास खण्डको निर्माणमा लगानीसहितको सहकार्य गर्नेबारे छलफल गरेका थिए। त्यस्तै करिब ४.५ खर्ब लागत लाग्ने अनुमान गरिएको ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको थियो।
उक्त मेट्रो प्रोजेक्टको पाँच खण्डमध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन गरिएको प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रूसी सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
भेटमा द्विपक्षीय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाइन प्लाण्टबारे समेत छलफल भएको थियो।
उक्त भेटमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।