कर्णली- कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ। आरटी पिसिआर गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र २ हजार ३१३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित हुनेको सङ्ख्या २ हजार ३१३ पुगेको हो। कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई/दुई, धनुषा र कञ्चनपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक/एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए। संक्रमितमध्ये मंगलबार १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उनले बताए।
शिक्षा अधिकृत कँडेलले भने, ‘कर्णालीमा देखिएका कूल कोरोना संक्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन्। अब १३ प्रतिशत संक्रमितहरु मात्र आइसोलेसनमा छन्।’ अहिलेसम्म ६ जना बाहेक अन्यको कोरोना संक्रमणबाट मृत्यु नभएको जनाउँदै उनले कोरोना संक्रमणबाट आत्तिहाल्नुपर्ने नरहेको बताए।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेसनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिए। लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा श्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जनामात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।