काठमाडौं– वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको कारोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। योसँगै गेल अब आइपिएल टिम किंग्स इलाभेन पञ्जाबको अभ्यासमा समयमै पुग्नेछन्।
इन्डियन प्रियिमर लिग (आइपिएल) आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ। गेल पञ्जाबका मुख्य खेलाडी हुन्। गेल जमैकन धावक उसेन बोल्टको जन्मदिनको पार्टीमा सहभागी भएका थिए। पार्टीपछि बोल्टको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
बोल्ट अहिले होम आइसोलेसनमा रहेका छन्। यसैकारण गेलले पञ्जाबको अभ्यास गुमाउने शंका भइरहेको थियो। तर लगातार दुई पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि गेलले समयमै टिमको बन्द प्रशिक्षणमा भाग लिने भएका हुन्।
टिम पञ्जाब यसअघि नै युएई पुगिसकेको छ। अहिले टिम क्वारेन्टाइनमा बसिरहेको छ। गेल पनि युएईमा गएर ६ दिनको क्वारेन्टाइनमा बस्ने छन्। यो अवधिमा उनको कोरोना परिक्षण हुनेछ। परीक्षणमा नेगेटिभ आए उनले टिमसँग अभ्यास थाल्नेछन्।
गेलले गत जनवरीमा बंगलादेश प्रिमियर लिग खेलेका थिए। क्यारेवियन प्रिमियर लिग (सिपिएल) भने उनले खेलेनन्। सेन्ट किट्स नभिस प्याट्रिएट्समा रहेका उनले व्यक्तिगत कारण देखाउँदै सिपिएल नखेल्ने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।