काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना भाइरस (कोभिड–१९) को बिमा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) १८ महिला क्रिकेट खेलाडीको कोरोना बिमा गरेको हो।
क्यानले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै सिनियर राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीको कोरोना बिमा गरिएको जानकारी दिएको हो। तर कुन कुन खेलाडीको बिमा गरिएको भने जानकारी दिएको छैन। यसअघि क्यानले पहिलो चरणमा पुरुष खेलाडीको कारोना बिमा गरेको थियो।
२३ खेलाडीसँगै ग्राउण्ड स्टाफ र कर्मचारी गरी ५१ जनाको कोरोना क्यानले पहिलो चरणमा गरेको थियो। दोस्रो चरणमा क्यानले महिला खेलाडीको बिमा गरिने उल्लेख गरेको थियो।
क्यानले कीर्तिपुरमै खाने बस्ने बन्दोबस्त गर्दै खेलाडीलाई क्लोज क्याम्पमा राख्ने तयारी गरेको थियो। तर फेरि कोरोनाको महामारी फैलिएपछि क्यानको योजना स्थगित भएको छ। खेलाडीले अभ्यास गर्न नपाएको करिब ६ महिनाभन्दा बढी भइसकेको छ।
क्यानको साधारण सभा स्थगित
क्यानको वार्षिक साधारणसभा कोरोना भाइरसको कारण स्थगित भएको छ। भदौ १५ गते तय भएको साधारणसभा अनिश्चितकालको लागि स्थगित भएको क्यानले जानकारी दिएको छ।
साउनमा बसेको क्यानको बैठकले भदौमा साधारणसभा गर्ने निर्णय गरेको थियो। गत असोजमा चुनाव भएपछि क्यानको पहिलो पटक साधारणसभा हुन लागेको थियो। सरकारले गोष्ठी, सेमिनार, पार्टी, ठूला कार्यक्रमलगायत नगर्न निर्देशन दिएको छ। सरकारको निर्देशन पालना गर्दै क्यानले कोरोना भाइरसबाट बच्न साधारणसभा स्थगित गरेको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।