काठमाडौं-इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डर्सन ६०० विकेट नजिक छन्। पाकिस्तानविरुद्धको अन्तिम सिरिज चलिरहँदा उनी ६०० विकेटको संघारमा पुगेका हुन्।
इंग्ल्यान्डको टेस्ट क्रिकेट इतिहासमै एन्डर्सन सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ५९९ विकेट लिइसकेका छन्। पाकिस्तानविरुद्धको अन्तिम टेस्ट क्रिकेटमा अब उनले थप एक विकेट लिए ६०० विकेटको कोसेढुंगा पार गर्ने छन्। अन्तिम टेस्ट क्रिकेटमा पाकिस्तानको पहिलो इनिङमा ५ विकेट लिएका थिए भने दोस्रो इनिङमा पनि १ विकेट लिएका छन्।
एन्डर्सनले १५६ टेस्ट क्रिकेटमा २९१ इनिङ्सबाट ५९९ विकेट पूरा गरेका हुन्। उनको इकोनोमी रेट २.८६ रहेको छ। टेस्ट क्रिकेटमा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड उनकै नाममा छ। त्यस्तै, स्टुआर्ट ब्रोडले इंग्ल्यान्डका लागि ५१४ विकेट लिएका छन्। इंग्ल्यान्डका लागि सबैभन्दा बढी टेस्ट क्रिकेटमा विकेट लिने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् भने विश्वमै उनी सातौं स्थानमा छन्।
एन्डर्सन भने विश्वमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन्। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा श्रीलंकाका मुथैया मुरलीधरन छन्। उनले २३० इनिङ्समा ८०० विकेट लिएका छन्। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीमा अस्ट्रेलियाका शेन वार्न छन्। उनले २७३ इनिङ्समा ७०८ विकेट लिएका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेको भारतका अनिल कुम्लेले २३६ इनिङ्सबाट ६१९ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।