काठमाडौं- नेपाल आयल निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगंजमा कार्यरत ६ जना र मातहतका डिपो कार्यालयमा थप ३ जना गरी ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश कार्यालय र मातहतको विरगंज डिपो बन्द गरिएको छ।
निगमका अनुसार कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैकल्पिक व्यवस्थाका लागि केन्द्रीय कार्यालयबाट २ दिनभित्र सपोर्ट टिम पठाई इन्धन आपूर्ति प्रणाली सहज बनाइनेछ।
यसअघि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निगमको भैरहवा डिपो बन्द भइसकेको छ। जसकारण त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगंज डिपोबाट पठाउने निर्णय निगमले गरेको थियो। भैरहवा डिपोमा अमलेखगंज डिपोका टयांकरबाटै ढुवानी भइरहेकोमा अमलेखगंजका कर्मचारीमा पनि संक्रमण देखिएपछि त्यहाँको आपूर्ति व्यवस्थापनमा पनि समस्या भएको छ।
प्रदेश नं ५ प्रादेशिक कार्यालय भैरहवाका ३ जना, उक्त कार्यालय मातहतका पेट्रोलपम्पका ३ जना र हवाई इन्धन डिपोका ५ जना गरी ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि निगमको भैरहवा डिपो ५ दिन र जिल्लाका पेट्रोल पम्प तथा हवाई इन्धन डिपो १ हप्ताका लागि बन्द गरिएको थियो। तथापि सबै डिपोहरुमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।