काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला स्वास्थ्यकर्मी माथि भइरहेका दुर्व्यवहार बन्द गर्न आग्रह गरेको छ।
उपत्यकालगायत विभिन्न जिल्लामा चिकित्सकमाथि दुर्व्यवहार भइरहेको घटना सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएको भन्दै आयोगले यस्तो आग्रह गरेको हो। ‘जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेछ’ अयाोगको विज्ञप्तिमा भनिएको छ‚ ‘उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो।’
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि सम्मान गर्न आयोगले भनेको छ।
यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन आयोगले आग्रह गरेको छ।
उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आयोगले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।