अहिले काठमाडौंमा कोरोनाको अवस्था भयावह बनेको छ। दैनिक सयौँ संक्रमित देखिन थालेका छन्। यो स्थिति आउनुभन्दा अघि मैले मेयर साबलाई हाम्रो स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई क्वारेन्टाइन र आइसोलेसन बनाउनु पर्छ भनेकी थिएँ। यसबारेमा उहाँले अहिलेसम्म बैठक बोलाउनु भएको छैन।
फरक पार्टी भएकाले राम्रो कुरा भने पनि सुन्नुहुन्न। अहिले ५ हजार जना क्षमताको आइसोलेसन बनाउने भनेर मिडियामा त भन्नुभएको छ। तर अहिलेसम्म बनाउने सुरसार छैन। काम गर्नुपर्ने बेलामा महानगर हरायो। मैले पहिले नै महानगरको बोर्ड मिटिङमा काठमाडौँका सीमामा कडाइ गर्नुपर्छ भनेकी थिएँ।
अवस्था हेर्न थानकोटसम्म पनि पुगेकी थिएँ। म त्यहाँ जाँदा महानगरमा उल्टो गाली गरियो। म पनि जनप्रतिनिधि हुँ। जनताप्रतिको यो बेवास्ता कसरी म टुलुटुलु हेर्न सक्छु र? महानगरले स्वास्थ्य विभागअन्तर्गत रहेका कर्मचारीलाई केही प्रोत्साहन भत्ताबाहेक अन्य केही काम गरेको छैन।
यत्रो जनसंख्या भएको ठाउँमा महानगर मातहत आइसोलेसन नहुनु कति लाजमर्दो हो। वडा–वडामा रहेका स्वास्थ्य संस्थामार्फत् सेवा दिन नसकिने हैन। तर नेतृत्वले भनेको नमानेपछि नागरिकको अगाडि कसरी मुख देखाउने?
सबैभन्दा धेरै कमजोरी त केन्द्रीय सरकारको पनि देखिएको छ। केन्द्र सरकारले नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको छ। यो अवस्थामा काम नगरे कहिले गर्ने? यस्तो अकमण्र्यताले महामारी समुदायस्तरमा फैलिएको छ। मेयर साहेबले छिटो बोर्ड बैठक बोलाएर तत्काल आइसोलेसन बनाउनु पर्छ। नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा केही हैन। नागरिक रहे न अरु कुरा रहने हो। भोलि हामी पनि संक्रमित हुन सक्छौँ आफूलाई परेमात्रै समस्या ठूलो, अरुलाई परे सानो हुने हैन ।
(काठमाडौं उपमहानगरकी उपमेयर हरिप्रभा खड्गीसँग प्र्रजु पन्तले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।