काठमाडौं-आन्तरिक उत्पादनतर्फ अन्त:शुल्क लाग्ने सबै वस्तु उत्पादनको विवरण एउटै प्रणालीबाट संकलन् गर्ने गरी काम अघि बढेको छ। आन्तरिक राजस्व विभागले राजस्व व्यवस्थापन प्रणालीमा सुधार गर्दै अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन, कच्चा पदार्थ ढुवानी र मौज्दातको विवरण संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो।
गत आर्थिक वर्षबाट मदिरा र सुर्तीजन्य वस्तुको विवरण संकलनमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षबाट अन्त:शुल्क लाग्ने सबै वस्तुको उत्पादन, मौज्दात, कच्चा पदार्थको विवरण र त्यसको खपतको तथ्यांक कर प्रणालीले समेट्ने गरी काम अघि बढाइएको छ।
'हामीले प्रणालीमा सुधार गरिसकेका छौँ, अब करदातालाई यसको तालिम दिन बाँकी छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'यो प्रणाली कार्यान्वयनमा आएपछि कुन करदाताले कुन वस्तु कति उत्पादन गर्याे, त्यसका लागि उसको कच्चा पदार्थ कति खपत भयो भन्ने विवरण सरकारले थाहा पाउन सक्छ।'
उदाहरणका लागि अब कुनै सिमेन्ट उद्योगले कति बोरा सिमेन्ट उत्पादन गर्याे, त्यसका लागि उसले कति कच्चा पदार्थ प्रयोग गर्याे र ऊसँग कति मौज्दात छ भन्ने विवरण सरकारले लिन सक्छ।
'उद्योगीले उद्योगमा कच्चा पदार्थ ल्याउनेबित्तिकै प्रणालीमा विवरण भर्नुपर्छ, वस्तु उत्पादन भएपछि त्यसको विवरण पनि त्यहाँ राख्नुपर्छ,' आन्तरिक राजस्व विभागका अधिकारीले भने, 'हरेक विवरण त्यहाँ समावेश गर्नुपर्ने भएकाले वर्षको अन्त्यमा मौज्दात तलमाथि देखाउने संभावना अन्त्य हुन्छ।'
विभागले हार्मोनाइज्ड सिस्टम कोड (एचएस)कै आधारमा वस्तु वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ। अन्त:शुल्क लाग्ने सबै वस्तुका उत्पादकले प्रणालीमा आफ्नो विवरण प्रविष्ट गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ। यसअनुसार अब जुनसुकै उद्योगले पनि विवरण बुझाएपछि अन्त:शुल्क अधिकृतबाट त्यसलाई प्रमाणित गर्नुपर्छ।
'हरेक करदातालाई प्रणालीमा विवरण भर्ने गरी छुट्टाछुट्टै युजर आइडी र पासवर्ड दिइएको हुन्छ, त्यसबाट उनीहरूले विवरण प्रविष्ट गर्न सक्छन् तर त्यसलाई परिमार्जन गर्न सक्दैनन्,' विभागका ती अधिकारीले भने। विभागले वस्तुको प्रकृतिअनुसार मूल्य र उत्पादनको आकार दुवैको आधारमा मापन गर्न सक्ने व्यवस्था मिलाएको छ।
उत्पादन र बजारको यथार्थ विवरण आउने
अहिले उद्योगीले आफ्नो उत्पादनको जानकारी कर विवरण बुझाउँदा सरकारलाई दिने गरेका छन्। उनीहरूले अन्त:शुल्क तथा मूल्य अभिवृद्धि करको विवरण बुझाउँदा मासिकरूपमा त्यसरी वस्तुको विवरण बुझाउने गरेका छन्। तर यो प्रणाली कार्यान्वयनमा आएपछि कर कार्यालयले वास्तविक समय (रियल टाइम)मा नै सम्पूर्ण उद्योगबाट अन्त:शुल्क लाग्ने वस्तु उत्पादन तथा त्यसको बजारीकरणको विवरण थाहा पाउँछ।
सुरुमा व्यवसायीले यो प्रणाली कार्यान्वयनको विरोध गरेका थिए। विभागले ५ वर्ष अघि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरे पनि व्यवसायीको विरोधपछि रोकिएको थियो। तर विभागका तत्कालीन महानिर्देशक विष्णुप्रसाद नेपालको पालामा यसलाई फेरि अघि बढाउन प्रणालीगत सुधार अघि बढ्यो र गत वर्षबाट केही वस्तुमा लागू भयो।
अन्त:शुल्क लाग्ने ५० किसिमका वस्तु छन्। त्यसअन्तर्गत ३०० भन्दा धेरै उत्पादनमा अन्त:शुल्क लाग्ने गरेको छ। सरकारले सिमेन्ट, छड, कस्मेटिक्स वस्तु, खाद्य वस्तु सबै उत्पादकले विवरण बुझाउनु पर्ने गरी प्रणाली बनाएको छ। मदिरा र सुर्तीजन्य वस्तुको बोतल तथा प्याकेटमा अन्त:शुल्क स्टिकर टाँसिए पनि अन्य वस्तुमा भने मूल्यका आधारमा अन्त:शुल्क निर्धारण हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।