काठमाडौं-पाकिस्तासँगको तेस्रो टेस्ट क्रिकेटमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले दोस्रो दिन ५८३ रनको उच्च स्कोर बनाएसँगै पहिलो इनिङ समाप्तिको घोषणा गर्याे। लगत्तै ब्याटिङ थालेको पाकिस्तानले भने सुरुवातमै आफ्नो महत्वपूर्ण ३ विकेट गुमाएको छ।
साउथह्याम्पटनमा जारी अन्तिम टेस्ट क्रिकेटमा इंग्ल्यान्डविरुद्ध पाकिस्तान कमजोर देखिएको छ। दोस्रो दिनको समाप्तिसम्म पाकिस्तानले २४ रन बनाउँदा ३ विकेट गुमाएको छ। पाकिस्तानका बाबर अजाम ११ रनमा आउट हुँदा ओपनर शान मसोद चार र अविद अली एक रनमा आउट भए। तीनै खेलाडीलाई इंग्ल्यान्डका जेम्स एन्डर्सनले आउट गराए।
क्रवली र बटलरको ३५९ रनको साझेदारी
दोस्रो दिन इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५८३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्याे। १२ रन हुँदा रोरी बुर्नसलाई ६ रनमा गुमाएको इंग्ल्यान्डले ७३ रन हुँदा दोस्रो विकेटको रुपमा डोम सिबलीलाई २२ रनमा गुमाएको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रवली र छैटौं नम्बरमा आएका बटलरले टिमलाई उकासे।
क्रवलीले दोहोरो शतक बनाए। उनले २६७ रन बनाउने क्रममा ३४ चौका र एक छक्का प्रहार गरे। उनको यो करिअरकै उच्च स्कोर हो। त्यस्तै, बटलरले शतकसहित १५२ रन बनाए। बटलरको पनि यो टेष्ट करिअरमा अहिलेसम्मकै उच्च स्कोर हो। इंग्ल्यान्डको विशाल स्कोर बनाउने क्रममा क्रवली र बटलरले ३५९ रनको साझेदारी गरे।
त्यस्तै, क्रिस वोक्सले ४०, कप्तान जोइ रुट २९ र डोम बेसले अविजित २७ रन बनाए। बलिङतर्फ पाकिस्तानका यासिर शाह, शाहिन शाह अफ्रिदी र फावद आलमले समान २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।