काठमाडौं–चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
भदौ ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो। उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको थियो। तर उक्त अस्पतालको प्रयोगशाला हालैमात्र स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन।
भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए। अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना संक्रमण देखिने क्रम बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।