काठमाडौंं-पाकिस्तानसँगको तेस्रो टेस्ट खेलमा टस जितेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड आफ्नो पहिलो इनिङमै बलियो स्थितिमा पुगेको छ।
शुक्रबार साउथह्याम्पटनमा सुरु भएको तेस्रो टेस्ट खेलमा पहिलो दिनको सामाप्तिसम्म इंग्ल्यान्डले ४ विकेटको क्षतिमा ३३२ रन बनाएको छ। इंग्ल्यान्डका जाक क्रवली र जस बटलरले २०५ रनको साझेदारी गर्दै टिमलाई उकासेका हुन्।
७३ रन हुँदा दोस्रो विकेटको रुपमा डोम सिबलीलाई २२ रनमा गुमाएको इंग्ल्यान्डका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रवली र छैटौं नम्बरमा आएका बटलरले टिमलाई उकासे। क्रवलीले शतकसहित १७१ रन बनाएका छन्। उनी दोहोरो शतक बनाउने लक्ष्यमा छन्। त्यस्तै बटलर ८७ रनमा अविजित छन्। इंग्ल्यान्डका तीन खेलाडी भने सस्तैमा समेटिए। कप्तान जोइ रुट २९, रोरी बुर्नस ६ र ओले पोप ३ रनमा आउट भए।
पाकिस्तानका लागि यासिर शाहले दुई विकेट लिँदा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान १–१ विकेट लिए।
पहिलो खेलमा ३ विकेटले पराजित भएको पाकिस्तानले इंग्ल्यान्डसँग दोस्रो खेल भने बराबरीमा टुंग्याएको थियो। निरन्तर पानी परिरहेपछि खेल बराबरीमा टुंगिएको थियो। तेस्रो तथा अन्तिम खेलमा भने इंग्ल्यान्डलाई हराउँदै सिरिज बराबरी बनाउने पाकिस्तानसँग अवसर छ। यता, इंग्ल्यान्ड भने पाकिस्तानलाई पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
टेस्ट सिरिज सकेपछि पाकिस्तानले तीन खेलकै टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डसँग खेल्नेछ। टि–२० सिरिजको पहिलो खेल म्यान्चेस्टरमा अगस्ट २८ तारिखमा हुनेछ। त्यस्तै, ३० अगस्टमा दोस्रो खेल खेल्ने पाकिस्तानले इंग्ल्यान्डसँग सिरिजको अन्तिम खेल सेप्टेम्बर १ तारिखमा खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।