काठमाडौं- कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसबाट संक्रमितको उपचारका लागि तीनवटै तहबाट अहिलेसम्म १३अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको छ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ। त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समावेश गरिएको छ।
यसैगरी प्रदेश सरकारको तर्फबाट भएको खर्च १ अर्ब ४९ करोड, स्थानीय तहबाट भएको खर्च ६ अर्ब २ करोड रूपैयाँ गरी कूल ११ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको हो।
संघीय सरकारबाट भएको निकासामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख ५० हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रूपैयाँ खर्च भएको छ।
संघबाट भएको निकासामध्ये औषधि र स्वास्थ्य सामग्री खरिदका लागि १ अर्ब ७५ करोड, स्वास्थ्य पूर्वाधारका लागि २ अर्ब ९३ करोड, जनशक्ति परिचालनका लागि ५ करोड ७४ लाख र क्वारेन्टिनका लागि १ करोड २४ लाख रूपैयाँ खर्च भएको छ।
यसैगरी प्रदेश १ बाट २० करोड ७१ लाख, प्रदेश २ बाट १७ करोड २ लाख, बागमती प्रदेशबाट १३ करोड ६७ लाख, गण्डकी प्रदेशबाट १८ करोड ५४ लाख, प्रदेश नं ५ बाट १० करोड ५९ लाख, कर्णाली प्रदेशबाट २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशबाट ४२ करोड ८८ लाख रूपैयाँ खर्च भएको छ। सातवटै प्रदेशको कोषमा अब ८७ करोड ८५ लाख रूपैयाँ बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।