काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ देखि एक दर्जन विदेशी गन्तव्यमा हवाइ सेवा सुरु गर्ने तयारी गरेको छ। शुक्रबार मन्त्री याेगेश भट्टराई र सरोकारवाला निकायका प्रतिनिधिहरूबीचको छलफल यस्तो निष्कर्षमा पुगेको हो।
'मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, नयाँ दिल्ली, युरोप तथा अमेरिकालगायतका देशमा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी उडान गर्ने सहमति भएको बैठकमा सहभागी एक मन्त्रालयका एक अधिकारीले बताए। तर यी गन्तव्यमा दैनिक एक मात्र उडान गर्ने सहमति समेत भएको छ।
यस्तै यसरी व्यावसायिक उडानबाट आउने नेपालीहरूले पनि कम्तीमा सात दिन हाेटल बस्ने गरी उतैबाट हाेटल बुक गर्नुपर्ने, पिसिआर अनिवार्य गरेको हुनुपर्ने लगायतका विषयमा समेत प्रतिनिधिहरूबीच सहमति भएको छ।
यी विषयमा सहमति भएपनि यसको अन्तिम टुंगो भने मुख्य सचिवसँग छलफलपछि मात्र लाग्ने भएको छ।
यसबाहेक पनि नेपाली उद्धारमा यात्रु चार्टर उडान भने नियमित गराउने सहमति भएकाे मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।