काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एसिया क्षेत्र उपाध्यक्ष हार्टविग सेफरबीच छलफल भएको छ। शुक्रबार मन्त्री खतिवडा र उपाध्यक्ष सेफरबीच भर्चुअल छलफल भएको हो।
उनीहरूबीच विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको प्रभाव, कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदम तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाबारे छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
अर्थमन्त्री खतिवडाले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए। जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगका लागि उनले अनुरोधसमेत गरेको मन्त्रालयले जनाएको छ। स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको अर्थमन्त्रीले बताएका थिए।


कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भएपनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचक सकारात्मक रहेको उल्लेख गरे। प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि नेपालको मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी अर्थमन्त्रीले गराएका थिए।
विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा सन्तुष्टि व्यक्त गरेका थिए। कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा प्रशंशा समेत गरेका थिए।
छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिस हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैंकका अन्य अधिकारी, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।