फाइल तस्बिर
काठमाडौं- काठमाडौंमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा काठमाडौं बालुवाटार र राजविराजका गरी दुई कोरोना संक्रमितको मृत्यु भएको हो।
बालुवाटारका ७६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरिक्षक डा प्रवीण नेपालले बताए। अस्पतालमा भर्ना भएको एक घण्टामै उनको मृत्यु भएको थियो। कोरोना पोजेटिभ देखिएपनि उनी ६ दिनदेखि होम आइसोलेसनमा रहको उनका आफन्तलाई उद्दत गर्दै अस्पतालले जनाएको छ।
डा. नेपालले भने, ‘उहाँलाई करीब ५.४० मा अस्पताल ल्याइएको थियो। तर एक घण्टा नहुँदै उहाँको मृत्यु भयो। कोरोना देखिएपनि उहाँ ६ दिनदेखि होम आइसोलेनमा बस्नु भएको रहेछ। अस्पतालमा ल्याउँदा स्वास्थ्य अवस्था निकै बिग्रिसकेको थियो।’
यस्तै, राजविराजका ७७ वर्षीय एक पुरुषको पनि उपचारको क्रममा शुक्रबार बिहान करिब १० बजे मृत्यु भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो।
उनी उपचारका लागि साउन ३० गते काठमाडौं आएका थिए। सुरुमा ग्राण्डी अस्पताल गएपनि उनलाई ग्रिन सिटी अस्पताल पठाइएको थियो। उनको ३२ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। उनलाई अस्पताल ल्याउँदा स्वास्थ्य अवस्था निकै गम्भीर रहेको डा नेपालले बताए।
सशस्त्र प्रहरी अस्पतालमा हाल दुई जना भेन्टिलेटर र १२ जना आइसियु सहित १ सय ४० जना संक्रमित उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।