काठमाडौंं-पाकिस्तान र इंग्ल्यान्डबीचको तीन खेलको टेस्ट क्रिकेट सिरिजको अन्तिम खेल शुक्रबारबाट सुरु हुँदैछ।
साउथह्याम्पटनमा आज शुक्रबार दिउँसोबाट सुरु हुने तेस्रो टेस्ट खेलमा पाकिस्तान जितको खोजीमा हुनेछ। पाकिस्तानलाई सिरिज बराबरीमा टुंग्याउने राम्रो अवसर पनि छ। तर फेरि पनि वर्षा बाधक हुने सम्भावना पनि प्रबल छ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको पाकिस्तानले इंग्ल्यान्डसँग दोस्रो खेल भने बराबरीमा टुंग्याएको थियो। निरन्तर पानी परिरहेपछि खेल बराबरीमा टुंगिएको थियो। तेस्रो तथा अन्तिम खेलमा भने इंग्ल्यान्डलाई हराउँदै सिरिज बराबरी बनाउने पाकिस्तानसँग अवसर छ। यता, इंग्ल्यान्ड भने पाकिस्तानलाई पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
टेस्ट सिरिज सकेपछि पाकिस्तानले तीन खेलकै टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डसँग खेल्नेछ। टि–२० सिरिजको पहिलो खेल म्यान्चेस्टरमा अगस्ट २८ तारिखमा हुनेछ। त्यस्तै, ३० अगस्टमा दोस्रो खेल खेल्ने पाकिस्तानले इंग्ल्यान्डसँग सिरिजको अन्तिम खेल सेप्टेम्बर १ तारिखमा खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।