काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा जमैका तलावाज पराजित भएको छ। आज बिहान जमैका तलावाज ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो।
ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजमाथि ट्रिनबागोले सहज जित निकाल्यो। १३६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागोले १८.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो।
ट्रिनबागोका जितमा सुनिल नारिनले ५३ रन बनाउँदा कोलिन मुनरोले अविजित ४९ रनको योगदान दिए। त्यस्तै, डारेन ब्राभोले १४ रन बनाए। बलिङतर्फ जमैका तलावाजका फिडेल इडवार्डस, मुजिब उर रहमान र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
पहिलो ओभरको तेस्रो बलमा नै इडवार्डसले सिमोन्सलाई शून्यमै आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर सुनिल र मुनरोले ७५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। १०.५ ओभरमा सुनिललाई ५३ रनमा सन्दीपले आउट गराउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। तर सन्दीपकै बलमा कार्लोस ब्राथवेटले मुनरोको क्याच छुटाउँदा महंगो सावित बन्यो। सन्दीपलले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैका तलावाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। जमैकाका लागि ग्लेन फिलिप्सले ५८, आन्द्रे रसेलले २५ र आसिफ अलीले २२ रन मात्रै बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।