भक्तपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अहिलेसम्म संक्रमितको संख्या २१ जना पुगेको छ। १७ जना बिरामी निको भइसक्नुभएको छ। ४ जना अस्पतालमा हुनुहुन्छ। समुदायस्तरमै फैलिएको त छैन। विदेशबाट आउने र बाहिरी जिल्लाबाट लकडाउन खुलेपछि आउनुभएकाहरुमा संक्रमण देखिएको छ। बैंकमा काम गर्नेलाई पनि संक्रमण देखिएकाले समुदायस्तरमा फैलिने हो कि भन्ने त्रास भने बढेको छ।
अहिलेसम्म कोरोनाकै कारण भक्तपुर नगरपालिकामा एक जनाको निधन भएको छ।
नगरपालिकाले सबैलाई सचेत रहन माइकिङ गरेको छ। टोलटोलमा साबुन पानीको व्यवस्था गरिएको छ। क्लोरिन छरिएको र मास्क लगाउन आग्रह गरिएको छ।
हामीले कोरोना भाइरस न्युनीकरण र रोकथामको लागि नगरपालिकाको तर्फबाट डेढ करोड जति छुट्याइएको छ। यहाँ तीनथरी क्वारेन्टाइनको व्यवस्था छ- नगरपालिकाले बनाएको, होटल क्वारेन्टाइन र भक्तपुर जिल्लाको ४ वटै नगरपालिकाको लागि खरीपाटी आइसोलेसनको व्यवस्था गरिएको छ।
हामीले बनाएको क्वारेन्टाइनमा ३४ जना बसेका थिए। अहिले ७ जना छन्। क्वारेन्टाइनको बसाइ अवधि पूरा भएपछि पिसिआर परीक्षण गरेर पठाएका छौं। होटल क्वारेन्टाइनमा २५ जना बसिसकेका छन्। अहिले ४ जना मात्रै हुनुहुन्छ। सायद आजबाट दुई जना घर जानुहुन्छ होला। घरकै क्वारेन्टाइनमा बसेको ३१ जना छन्। २५ जनाको समयावधि पुगिसकेको छ। बाँकीको केही समय बस्नुपर्छ। विदेश र ‘आउट अफ भ्याली’बाट आएकालाई राखिएको हो।
विदेशबाट सरकारले ल्याउने भनेपछि हामीले भत्तपुरमा बसोबास गर्नेलाई को-को होटल क्वारेन्टाइनमा बस्ने भनी अनलाइन फारम भर्न लगायौं। १ सय ५० जनाले भर्नुभएको थियो। अहिलेसम्म १ सय ४ जना आइसक्नुभएको छ।
सकेसम्म समुदायस्तरमा फैलिन नदिने हाम्रो सोच छ। तर यो हाम्रो वशको रोग होइन। समुदायस्तरमा फैलिन पनि सक्छ। जसको लागि भक्तपुर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ। त्यहाँ आउने अन्य रोगका बिरामीलाई अरु अस्पतालमा सारिएको छ।
नगरपालिकाले कोरोना नियन्त्रणको लागि डेढ करोड छुट्याएको छ। प्रदेशले हामीलाई १२ लाख पठाएको थियो। यो रकम त के नै हुन्छ र? प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको छ।
कन्टयाक्ट ट्रेसिङ हामीले गरिरहेका छौँ। तर थाहै नभइकन पनि सर्न सक्छ। भत्तपुरमा अन्यत्रको जस्तो भयावह छैन तर यो हुन सक्ने सम्भावना उतिकै रहन्छ। सबै स्वअनुशासनमा बसौं। आफू पनि बचौं, अरुलाई पनि बचाऔं।
(भक्त्तपुर नगरपालिकाका मेयर प्रजापतिसँग नेपाललाइभले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।