महालक्ष्मी नगरपालिका पनि कोरोना संक्रमणको जोखिममा छ। संगै जोडिएको ललितपुर महानगरपालिकामा पनि संक्रमित बढ्दै गएका छन्। यो हाम्रो लागि खतराको घन्टी हो।
नगरमा हालसम्म ६५ जना कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २९ जना निको भएर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ। उनी महालक्ष्मी नगरपालिकामा डेरामा बस्दै आएको थिए। उनले अस्पतालमा ज्यान गुमाएका हुन्। उनको किड्नी प्रत्यारोपण गरिएको थियो। चितवनवाट भक्तपुर अस्पताल भर्ना भएका थिए। भक्तपुरबाट नर्भिक अस्पताल हुँदै पाटन अस्पताल आएपछि निधन भएको हो।
नगरमा अहिले ३५ जना सक्रिय संक्रमित छन्। यीमध्ये १९ पुरुष र १६ महिला हुन्। संक्रमित मध्ये ३ जना स्थानीय बाहिरबाट आएर बसेका मानिस छन्। संक्रमित मध्ये १७ जना होम आइसोलेसनमा र १८ जना अस्पतालमा रहेका छन्। यी मध्ये केही व्यक्तिमा मात्र कोरोनाको लक्षण रहेको छ। अधिकांशको स्वास्थ्य अवस्था राम्रो रहेको छ। छिटै ५ जना अस्पतालबाट निको भएर फर्कँदै छन्।
हामीले नगरमा ५५ बेडको क्वारेनटाइन निर्माण गरेका छौं। सुरक्षित आवासगृहमा बाहिरबाट आएका मानिसलाई राख्न क्वारेनटाइन बनाएका थियौँ। अहिले त्यहाँ कोही छैनन्। २० बेड आइसोलेन बन्ने क्रममा छन्। नगरपालिकाले किष्ट अस्पतालसँग सहकार्य गरेर नगरका बिरामीहरूलाई उपचार गर्ने एमओयुमा सही गरेका छौँ।
अहिले हामी नगरसभाले छुट्टाएको पैसाबाट खर्च गरिरहेका छौँ। केन्द्र सरकारले दिएको अनुदानलाई नै कोरोनामा खर्च गरेका छौँ। हाम्रो नगरपालिकामा पनि स्थिति गम्भीर हुन्छ भन्ने अनुमान हामीले गरिसकेका छौँ। यही कुरालाई ख्याल गरेर हामीले उपत्यकाका नगरपालिका मेयरर्स फोरममा एकजुट भएर कोरोना नियन्त्रणका लागि सिल गर्नुपर्ने प्रस्ताव गरेका थियौँ।
हामीले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर नै अहिले तत्काल अवस्था भयावह नभएकाले नगरभित्र प्रवेश रोक्नेदेखि परीक्षण बढाउनेसम्मका प्रस्ताव गरेका थियौँ। सोही कुरालाई गम्भीर रुपमा लिएर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउनु भएको छ। यसले संक्रमण फैलन रोक्ने काममा मद्दत गर्छ। यही बीचमा हामीले गर्ने कार्य गर्नुपर्छ।
परिक्षणको दायर बढाउनेदेखि कन्ट्याक ट्रेसिङमा पनि ध्यान दिएर संक्रमति र अन्य व्यक्तिलाई छुट्टाउनु पर्छ। नत्र यो समुदायमा झन् भयावह अवस्थामा पुग्ने खतरा रहेको छ।
नगरको छुट्टै अस्थायी कोरोना अस्पताल छैन। बनाउन सम्भव पनि छैन। हामीले जिल्लास्तरीय आइसोलेसन बनाउनुपर्ने कुरा भने उठाएका छौं। अस्पताल बनाएर मात्र हुँदैन, त्यहाँ विज्ञदेखि स्वास्थ्यकर्मीसम्मको पूर्ति गर्नुपर्ने भएकाले यो निकै कठिन काम हो।
विशेषज्ञ डा राख्नेदेृखि नर्स, कन्टाक ट्रेसिङका लागि टोली
हामीले कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ टिम बनाएका छौँ। दुई वटा टिम रहेको छ। एमबिबिएस डाक्टर र नर्सहरूसमेत समावेश भएको यो टिमले संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्छ। उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गर्ने कार्य उक्त टिमले गरेको छ। उनीहरूले होम आइसोलेसनमा बसेका व्यक्ति, अस्पतालमा रहेका संक्रमितहरूसँग नियमित रुपमा अनुगमन गरिरहेको छ।
संक्रमितहरूको फलोअपदेखि उनीहरू कुन अवस्थामा रहेका छन्, कस्तो समस्या आइरहेको छ भनी दैनिक मनिटरिङ गरिरहेका छन्। होम आइसोलेनसमा बसेकालाई कुनै समस्या आए उक्त टिमले तत्काल अस्पताल लैजान्छ।
सचेत हुनु नै उपचार
नगरले संक्रमण फैलन नदिन आफ्नो भूमिका निभाएकाले जनताले पनि सचेतना अपनाउने भूमिका निभाउने बेला छ। मास्क लगाउने, सामाजिक दुरी पालना गर्ने र जथाभावी नहिँड्ने काम अब नागरिकले गर्न जरुरी छ।
अहिलेको अवस्था विषम भएकाले घरमै बस्ने, चाडपर्व घरमै बसेर मनाउने गर्न जरुरी छ। एकछिनको रमाइलोका लागि घर बाहिर निस्कँदा रोग भित्रने भएकाले सबैले सचेत हुन जरुरी छ। अहिलेको ठूलो चुनौती भनेको जनताको व्यवहार हो।
म सबै नगरबासीलाई आग्रह गर्छु मास्क राम्रोसँग लगाऔं। सामाजिक दुरी पालना गरौँ। मास्क चिउँडोमा होइन, नाकमुख छोपिने गरी लगाऔं। म बाहेक सबै संक्रमित छन् भनेर सोचर हिँड्न आग्रह गर्दछु।
सवैले सहयोग गरेर यसलाई नियन्त्रण गर्नुपर्ने भएकाले यही रुपमा सचेतना अपनाउन आग्रह गर्दछु। आम नागरिकको सामूहिक सहयोगमा मात्र कोरोना नियन्त्रण गर्न सम्भव भएकाले सबै सचेत भइदिन आग्रह गर्दछु।
मास्क र सामाजिक दुरी नै महत्वपूर्ण भएकाले सबैले सचेत हुन जरुरी छ। बाहिरबाट आएपछि साबुनपानीले हात धोइहाल्ने बानी बसाल्न जरुरी छ। तिज चलिरकाले घरमै बसेर सुरक्षित रुपमा मनाउन आग्रह गर्दछु।
(श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।