काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी जमैका तलवाजले विजयी सुरूवात गरेको छ। सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराउँदै जमैकाले सुखद सुरूवात गरेको हो। जसमा नेपाली लेग स्पिनर लामिछानेको योगदान पनि रह्यो।
मंगलबार राति भएको यो खेलमा पहिले ब्याटिङ गर्दै सेन्ट लुसियाले १ सय ५९ रनको लक्ष्य दिएको थियो जसलाई जमैका तलवाजले मात्र ५ विकेट गुमाएर ७ बल बाँकी रहँदा नै पूरा गर्यो।
जमैका तलवाजको जितका लागि आसिफ अलीले सर्वाधिक ४७ रनको योगदान गरे भने ग्लेन फिलिप्सले ४४ रन जोडे। खेलमा कप्तान रोमवान पाउलले २६ तथा कार्लोस ब्याथह्वाइटले १८ रन र आन्द्रे रसेलले १६ रन बनाएका थिए।
ब्रायन लारा स्टेडियममा भएको सो खेलमा सन्दीपले नवौं ओभरमा बल हातमा लिएका थिए। ओभरको पहिलो बलमा उनले नाजिब उल्लाह जद्रानलाई एक रन दिए। सन्दीपले दोस्रो र तेस्रो बल डट राखे। चौथो बलमा एक रन भयो। पाँचौ बलमा भने सन्दीपले छक्का खाए।
त्यस्तै ११औं ओभरको पहिलो बलमा २ रन तथा दोस्रो, तेस्रो र चौथो बलमा डट राखेका सन्दीपले पाँचौ बलमा एक रन दिए। अन्तिम बल डटमा रह्यो।
सन्दीपले फ्याँकेको १३औं ओभरको पहिलो बलमा जद्रानलाई एक रन लिए। दोस्रो बलमा भने सन्दीपले चौका झेले। तेस्रो बल डटमा रह्यो। चौथो बलमा सन्दीपले एलबिडब्लू आउटको अपिल गरेपनि एम्पायरले कुनै प्रतिक्रिया दिएनन्। पाँचौ बलमा दुई र अन्तिम बलमा एक रन खर्चिए।
१५औं ओभरको दोस्रो बलमा सन्दीपले जद्रानलाई क्याच आउट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।