फाइल तस्बिर
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समन्वय र सहभागितामा आगामी १ हप्ताभित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्नेगरी तयारी थालेको जानकारी दिएका हुन्। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिएका हुन्।
शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरेका छन्। ‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टाइन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
‘हाल महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ। नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन्। कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो समय काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म प्राप्त पछिल्ले तथ्याङ्कअनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौं महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन्। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टाइन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक छ।’
विज्ञप्तिमा काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस् भन्ने हेतुले काठमाडौं महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवा (१०२)लाई सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। ‘त्यस्तो समस्यामा परेका उपत्यकाबासीलाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गर्दछ,’ विज्ञप्तिमै भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।