काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि उपत्यकाभित्र बिहीबारदेखि निषेधाज्ञा गर्ने भएसँगै बुधबार शेयर बजारमा १६.६० अंकको गिरावट आएको छ। सूचकमा गिरावटसँगै कारोबार रकम पनि ९७ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ।
नेप्से सूचक १.१८ प्रतिशतले घटेर १३९१.२९ अंकमा रोकिएको छ। बिहीबारदेखि लगानीकर्ताले बजार जान पाउने छैनन्। तर शेयर बजार भने खुलै हुनेछ।
निषेधाज्ञा पहिलाकै लकडाउन शैलीमा लम्बियो भने बजारमा अझै असर पर्ने देखिएपछि लगानीकर्ताले शेयर बिक्री गरिरहेका छन्। पछिल्ला दिनमा लकडाउन हुने हल्लाले दोस्रो बजारमा बिक्री चाप परिरहेको थियो।
बुधबार कारोबार सुरू भएदेखि नै घट्न थालेको थियो। जम्मा १५० वटा कम्पनीको कारोबार हुँदा १३० वटा कम्पनीको मूल्य घटेको छ भने जम्मा २२ वटा कम्पनीको मूल्यमात्रै बढेको छ।
सम्पुर्ण सूचक तथा उपसूचक घट्दा समृद्धि फाइनान्सको शेयर मूल्य भने बढ्दो क्रममा सर्किट लागेको छ। सबैभन्दा धेरै नागरिक लगानीकोषको ८ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।