काठमाडौं- उपत्यकाभित्र निषेधाज्ञा जारी भए पनि निश्चित शाखाहरु खुला हुने भएका छन्। नेपाल राष्ट्र बैंकले आधारभुत बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन जारी गरेपछि बैंकहरुले शाखा खोल्ने मोडालिटी बनाएका हुन्।
एउटा बैंकले काठमाडौं उपत्यकाभित्र ८ वटामात्रै शाखाहरु सञ्चालन गर्न पाउने भएका छन्। बैंकहरुले काठमाडौं जिल्लामा ५ वटा शाखा, भक्तपुरमा एक र ललितपुरमा दुईवटा शाखा कार्यालय खुला हुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शाखा कार्यालय तथा बैंकिङ सेवा प्रदान गर्ने दाहालले जानकारी दिए। नेपाल राष्ट्र बैंकले बुधबार सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रणालीमार्फत् बैंकिङ सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ।
स्थानीय निकायले विभिन्न डाउमा निषेधाज्ञालगायत विशेष आदेश जारी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आधारभुत बैंकिङ सेवा प्रदान गर्ने निर्देशन गरेको हो। स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्डहरु कायमै रहनेगरी आदेश अवधिभर ग्राहकहरुलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गरेको छ।
राष्ट्र बैंकले बैंकहरुलाई एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउने अनुरोध गरेको छ।
बैंकहरुले अत्यावश्यक वस्तुको आपुर्ति सुनिश्चित गर्न ड्राफ्ट टिटी प्रतितपत्र ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउनुपर्नेछ। सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्युनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभुत बैंकिङ कारोबार सुचारू गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
बैंकहरुले खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्नेगरी खुल्ने वैकल्पिक शाखाको विवरण ग्राहकहरुलाई जानकारी दिनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।