काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले गुयाना अमेजन वारियर्सलाई ४ विकेटले हराएको छ। १ सय ४५ रनको लक्ष्य नाइट राइडर्सले १७औँ ओभरमा ६ विकेट जाँदा पूरा गरेको हो।
१७ ओभरमा झारिएको खेलमा नाइट राइडर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको वारियर्सले ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। वारियर्सका लागि सिमरोन हेटमेयरले ४४ बलमा ६३ रन बनाए। रोस टेलरले २१ बलमा ३३ रन साथै निकोलस पुरनले १६ बलमा १८ रन बनाए।
नाइट राइडर्सका सुनिल नारिनले दुई विकेट लिए। साथै अलि खान, जेडेन सिल्स र डायन ब्राभोले एक–एक विकेट लिए।
ब्याटिङमा नाइट राइडर्सका सुनिल नारिनले २८ बलमा ५० रन बनाए। कोलिन मुर्नोले ७ बलमा १७ रन, डायन ब्राभोले २७ बलमा ३० रन, कायरन पोलार्डले ११ बलमा १० रन बनाए।
प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्।
नेपालका सन्दीप लामिछानेले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनलाई जमैका तलावाजले एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। सन्दीप आबद्ध तलावाजले बुधबार राति ७ः४५ बजे सेन्ट लुसिया जौउक्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।