काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीले यात्रुवाहक चार्टर उडान स्थगित गर्ने निर्णयका कारण दुबइबाट नेपाल आउनका लागि विमानस्थलमा आएका २६६ जना नेपाली दुबइमै रोकिएका छन्।
सोमबार साँझ सरोकारवाला निकायसँग कुनै छलफल नगरी एक्कासी यात्रुवाहक चार्टर उडान स्थगित गर्न भन्दै सिसिएमसीले पत्राचार गरेपछि नेपाल एयरलाईन्सको जहाज दुबइबाट रित्तै फर्कनु परेको हो। भने नेपाल आउनका लागि सबै तयारी पूरा गरेका नेपालीको बिजोक भएको हो। मंगलबार बिहान सवा ९ बजे काठमाडौं विमानस्थलामा अवतरण भएको नेपाल एयरलाइन्समा कुनै यात्रु थिएनन्।
यसरी नेपाली वायुसेवा प्रदायकलाई नेपाली यात्रु नै बोक्न प्रतिबन्ध लगाउने सिसिएमसीको निर्णयको आलोचना हुन थालेको छ। तर सिसिएमसीले त्यस्तो निर्णय गरेपनि टर्कीको इस्तानबुलबाट मंगलबार दिउँसो अवतरण भएको टर्किस एयरलाइन्समा भने २ सय १ जना यात्रु लिएका थिए।
नेपाल एयरलाइन्स चाहिँ रित्तै फर्कनु परेको तर टर्किसले चाहिँ यात्रु ल्याएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई जिज्ञासा राख्दा उनले सिसिएमसीको निर्णय हुनु अघि नै टर्किसले उडानका लागि सबै काम पूरा भएको सूचना गरेकाले रोक्न नसकिएको बताए। तर नेपाल एयरलाइन्सले भने उडान सुरु नगरेकाले यात्रु ल्याउन नदिने गरी पत्र आएपछि आफूहरूले सोही अनुसार निर्देशन प्रवाह गरेको बताए।
सोमबार दिउँसो दुबइ गएको नेपाल एयरलाइन्सले २३२ जना यात्रु लगेर गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।