नक्सालमा कोरोना महामारीले भयावह रुप लिइसक्यो भन्ने हल्ला बाहिर फैलिएको छ। तर प्रहरी हेडक्वाटरबाहेक नक्सालमा दुई जना सर्वसाधारणमा मात्रै कोरोना पुष्टि भएको छ। गएको शुक्रबारमात्र ४२ जना मानिसहरुको नक्सालमा पिसिआर गरिएको थियो। उनीहरुमा कोरोना देखिएन।
वडाका अन्य स्थानका शंकास्पद अवस्थाका १२ जना व्यक्तिहरुको कोरोना परीक्षण गराएका छौं। उनीहरुको रिपोर्ट आएको छैन। अहिलेसम्म वडा नम्बर १ स्थित कमलपोखरी, दरबारमार्ग, कान्तिपथलगायत क्षेत्रमा संक्रमित भेटिएको छैन।
अहिलेसम्म वडामा भेटिएका दुई जना कोरोना संक्रमितहरु बाहिरबाट आएकाहरु नै छन्। एक जना वीरगञ्जबाट आएका र अर्का पनि अन्यत्रबाट आएका व्यक्तिमा नै कोराना देखिएको छ। उनीहरुको अवस्था पनि सामान्य छ। एकजनामा कोरोना देखिएको २० दिन भइसकेको छ भने अर्कामा १२ दिन भएको छ। उनीहरू होम आइसोलेसनमा छन्। दुवै जना निको हुने क्रममा छन्।
मेरो फोनमा दुवै जनासँग कुरा भइरहन्छ। उहाँहरुको अवस्थाबारे बुझिरहेको छु। अप्ठ्यारो भयो भने खबर गर्नुहोला, अत्तिनुपर्दैन भनेर मैले फोनमा भनिरहेको हुन्छु। अस्पताल जानुपर्छ कि भनेर हामीले एम्बुलेन्सको फोन नम्बर पनि उपलब्ध गराएका छौं।
नक्सालतिर समुदायमा भन्दा पनि प्रहरी हेडक्वाटरमा देखिएको छ। प्रहरी हेडक्वाटरमा कसरी कोरोना फैलियो त्यसको कारण खुलाइएको छैन।
सबैतिर कोरोनाले भयावह रुप लिन थालेपछि हामीले समुदायमा कोरोना नफैलियोस् भनेर सचेत गराइरहेका छौं। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र अत्यावश्यक काममा पनि सामाजिक दूरी कायम गर्न भनेका छौं। हाम्रो वडा परिसरमा हामीले व्यापार व्यवसाय सञ्चालन गर्न बन्द गरेका छैनौं। सामाजिक दूरी कायम राखेर व्यापार व्यवसायहरु पनि सञ्चालनमा आइराखेका छन्।
अहिलेको अवस्थामा कोरोनाको सबैभन्दा ठूलो औषधि भनेकै सामाजिक दूरी र सरसफाइ हो। यसमा लापरबाही गरियो भने कोरोनाले भयावह रुप लिन्छ।
हामीले यसबारे समुदायमा सचेत गराइरहेका छौँ। जो मान्छे अबुझ छन् बरु उनीहरूले बुझ्न खोज्छन्। बुझेकाहरु बुझ पचाएर हिँडिरहेका छन्। यसले गर्दा कोरोना समुदायमा फैलन्छ कि भन्ने डर छ।
कोरोना फैलिहाल्यो भने के गर्ने भनेर पूर्वतयारी गर्ने अवस्था पनि छैन। कोरोनाकै लागि भनेर अहिले बजेट पनि आइसकेको छैन। सरकारले बाँडफाँड गर्दैछ बिस्तारै आउला। कोरोना फैलिहाल्यो भने संक्रमितहरु राख्ने अस्पताल छैन। महानगरपालिकाले महानगरभित्र २ हजारसम्म बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गर्ने भनेर कुरा उठाइरहेको सुनेको छु। यो कुरा आधिकारिक रुपमा भने आइसकेको छैन।
(काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रेष्ठसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधरित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।