काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसमा परीक्षण भइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले छिटै विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभसँग भेटकाका क्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो विश्वास व्यक्त गरेका हुन्। रुसमा कोरोना विरुद्धको भ्याक्सिन परीक्षण भएको समाचारले आफूहरूलाई खुशी तुल्याएको समेत उनले बताएका थिए।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको थियो। यसका साथै नेपाल र रुसबीचको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको बताइएको छ।
अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले असहज स्थितिमा पनि रुसमा रहेका नेपाली समुदायको ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए। उहाँले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको उल्लेख गरेका थिए।
भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए। रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका थिए। 'रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,' राजदूत नोभिकभले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।