काठमाडौं- सर्वोच्च अदालतका एक इजलाश अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ। १७० जनाको स्वाब संकलन गरिएकोमा उनको भने पोजेटिभ आएको हो। सर्वोच्चमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि निजी सुरक्षागार्ड र सवारी चालकमा कोरोना पुष्टि भएको थियो। सर्वोच्च अदालतका कर्मचारीमा कोरोना देखिएपछि उपत्यकाका अन्य अदालत पनि जोखिममा देखिएका छन्।
सबैभन्दा धेरै सुरक्षाकर्मीमा र केही कैदीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपनि अदालतमा जोखिम बढेको हो। काठमाडौं जिल्ला अदालत, विशेष अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतका कर्मचारीहरुलाई अदालतको सवारी साधनमा ल्याइन्छ। यसरी ल्याइने बसहरु भरिभराउ हुने भएकाले त्यहाँबाट पनि संक्रमण हुने जोखिम रहेको अदालतका कर्मचारीको गुनासो छ।

एउटै गाडीमा खाँदिएर आउनुपर्ने र अदालतमा आउने सेवाग्राहीबाट पनि संक्रमणको धेरै जोखिम बढेको उनीहरुको गुनासो छ। जिल्ला अदालत काठमाडौंका एक फाँटवालाको घरमा कोरोना संक्रमण भएपछि फाँट सिल गरिएको छ भने उनीसँग काम गर्ने एक न्यायाधीश क्वारेन्टाइमा रहेका छन्।
प्रधानन्यायाधीशसहित १६९को कोरोना नेगेटिभ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशसहित १६९ जनाको रिर्पोट नेगेटिभ आएको छ। यसअघि गरिएको परीक्षणमा एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको स्वाब संकलन गरिएको थियो।
यसअघि नै दुई न्यायाधीश क्वारेन्टाइनमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।