काठमाडौं- विराटनगर भन्सार कार्यालयमा कार्यरत ४ जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ। भन्सार कार्यालयका कम्प्युटर अधिकृत र नायब सुब्बामा कोरोना संक्रमण देखिएको हो।
देशभर कोरोना संक्रमण बढ्दै जाँदा भन्सारका कर्मचारी पनि त्यसबाट प्रभावित बन्न थालेका छन्। चारजना कर्मचारीमा संक्रमण देखिएपछि अन्यको पनि परीक्षण गर्न थालिएको छ।
सीमामा कार्यालय सञ्चालन गर्नुपर्ने र सेवाग्राहीको आवात/जावत भइरहने भएकाले भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू कोरोना संक्रमणको जोखिममा परेका छन्। वैदेशिक व्यापार निरन्तर रहेकाले कार्यालयमा सेवाग्राही, एजेन्टसहितका व्यक्तिहरूको निरन्तर आवत-जावत भइरहेकाले संक्रमणको जोखिम बढेको हो।
'हामीले सुरुदेखि नै संक्रमणको जोखिम न्यूनीकरणका लागि मापदण्ड बनाएर लागू गराएका छौँ, यद्यपि जोखिम अहिले झन् बढ्दै गएको छ,' भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने, 'भन्सार विभागमा आलोपालो प्रणालीमा काम गरिरहेका छौँ, कार्यालयहरूमा पनि सजगता अपनाएर काम भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।