काठमाडौं- कोरोना माहामारीका कारण रोकिएको क्रिकेटमा पहिलो पटक टी२० लिग प्रतियोगिता सुरु हुँदैछ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता मंगलबारदेखि दुई मैदानमा हुन लागेको हो।
सेप्टेम्बर १० मा फाइनल खेल गर्ने गरी २३ दिनको प्रतियोगिता तालिका अनुसार सिपिएलको उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ब्रायन लारा क्रिकेट एकेडेमीमा यी दुई टिमले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा साविक विजेता बार्बेडोस् ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग बुधबार बिहान ३ः१५ बजे प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्।
नेपालका सन्दीप लामिछानेले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनलाई जमैका तलावाजले एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। सन्दीप आबद्ध तलावाजले बुधबार राति ७ः४५ बजे सेन्ट लुसिया जौउक्ससँग प्रतिस्पर्धा गर्नेछ।
सिपिएल वेष्ट इन्डिजको मुख्य दुई मैदानमा मात्रै प्रतियोगिता हुनेछ। ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभलमा गरी यो पटक दुई स्थानमा प्रतियोगिता हुन लागेको हो। कोरोना भाइरसको कारण दुई स्थानमा मात्रै सिपिएल आयोजना गर्न लागिएको हो।
दुवै मैदान स्पिन बलिङका लागि राम्रो मानिएको छ। जहाँ स्लोअर बलरले ६.९० को रेटमा रन खाएका छन् भने पेस बलरले ८.३८ प्रतिओभर को औषतमा रन खाएका छन्। यसैले रसिद खान, इमरान ताहिर, सन्दीप लामिछाने र जाहिर खान जस्ता बलरले राम्रो गर्ने अनुमान गरिएको छ।
यसपटक टी २० क्रिकेटका सर्वाधिक रन बनाएका खेलाडी र सर्वाधिक छक्का हानेका खेलाडी क्रिस गेल सिपिएलमा हुने छैनन्। उनले पारिवारिक कारण बताउँदै आफूले नखेल्ने जनाएका थिए। सिपिएलमा ३९.२३ को औषतमा गेलले बनाएको २ हजार ३ सय ५४ रन सर्वाधिक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।