काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले मंगलबारबाट हुने भनिएका सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशमा कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार स्थगित गर्न सिसिएमसीको पत्रलाई आधार बनाउँदै परराष्ट्र मन्त्रालयले पनि विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचारसमेत गरिसकेको छ।
परराष्ट्रको पत्रपछि दूतावासहरुले उडान स्थगित भएको सूचना जारी गरेका छन्। मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले अर्को सूचना जारी नहुँदासम्मका लागि सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान स्थगित भएको उल्लेख गरेका छन्।
नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सिसिएमसीले उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्रमा उल्लेख छ।

यसअघि सिसिएमसीले सोमबारबाट पाचौं चरणको उद्धार उडान सुरु गरेको थियो। सो अनुसार सोमबार पनि केही यात्रु नेपाल आएका छन् भने टर्किस एयरलाइन्सको एक जहाज नेपालका लागि उडिसकेको तर आईनपुगेको अवस्थामा छ। यो जहाज आएपछि सबै उडान रद्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ।
विदेशमा कतिपय यात्रु तयारी अवस्थामा रहेका केही यात्रु त विमानस्थलमा समेत आइसकेको अवस्थामा एक्कासी सबै उडान रद्द गर्दा यात्रुका साथै विमान सेवा प्रदायक कम्पनीलाई पनी मार परेको प्राधिकरण उच्च स्रोतको भनाइ छ। तर सरकारको निर्णयअनुसार नै आफूहरूले काम गर्ने प्राधिकरण उच्च स्रोतले नेपाल लाइभसँग कुराकानी गर्दै प्राधिकरण स्रोतले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।