काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। कोरोना भाइरस (कोभिड–१९) को कारण रोकिएको क्रिकेट टी ट्वान्टी लिग प्रतियोगिताहरुमध्ये सिपिएल सुरु हुने पहिलो हो।
मंगलबारबाट सुरु हुने सिपिएलको उद्घाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुयना अमेजन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ब्रायन लारा क्रिकेट एकेडेमीमा यी दुई टिमले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा साविक विजेता बार्बेडोस् ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग बुधबार बिहान ३ः१५ बजे प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्। सिपिएलको फाइनल १० सेप्टेम्बरमा ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ।
नेपालका सन्दीप लामिछानेले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनलाई जमैका तलावाजले एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको हो। सन्दीप आबद्ध तलावाजले बुधबार राति ७ः४५ बजे सेन्ट लुसिया जौउक्ससँग प्रतिस्पर्धा गर्नेछ।
सिपिएल वेष्ट इन्डिजको मुख्य दुई मैदानमा मात्रै प्रतियोगिता हुनेछ। ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभलमा गरी यो पटक दुई स्थानमा प्रतियोगिता हुन लागेको हो। कोरोना भाइरसको कारण दुई स्थानमा मात्रै सिपिएल आयोजना गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।