जुम्ला-जुम्लाको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो।
चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ। बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्ण रूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाएका हुन्। स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेकाे प्रजिअ थापाले बताए।
यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको थापाकाे भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।