लहान-कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समिति सिरहाले जिल्लाका १७ वटै स्थानीय तहमा आज साेमबारदेखि भदौ १५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाका १७ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए।
यसैबीच कोरोना संक्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिए।
यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लकडाउन लगाएकाे थियाे। लकडाउनलाई भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताए।
त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ। गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरेकाे नगरप्रमुख देवनाथ साहले जानकारी दिए। नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ ।
यस्तै संक्रमणकाे जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको हाे । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।