काठमाडौं- चितवन क्यान्सर अस्पताल र भरतपुर अस्पतालका स्वास्थ्यकर्मीमा कोराना सङ्क्रमण देखिएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार डा तिवारी, प्रसूति तथा स्त्रीरोग विभागका डा सुनिलमणि पोखरेल, आकस्मिक कक्षका एक जना अर्का चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो। उनका अनुसार प्रयोगशाला परीक्षणका क्रममा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित चितवनका २७ र सर्लाहीका १ गरी २८ जनामा कोरोना संक्रमण देखिएको हो।
चितवन क्यान्सर अस्पतालमा पनि १० जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छ। अस्पतालका निर्देशक बेजकुमार गौतमका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।
चितवनमा आइतबार थप ७० जना कोरोना सङ्क्रमित देखिएका छन्। जसमा ५ जना स्वास्थ्यकर्मी हुन्। ‘क्यान्सरको उपचार र फलोअपका लागि देशभरबाट बिरामी आउनुहुन्छ,’ निर्देशक गौतमले भने, 'कसरी फैलियो भन्नु भन्दा पनि अब परीक्षणको दायरा फराकिलो पारेर फ्रन्टलाइनमा खट्नेहरुको कन्ट्याक्ट ट्रेसिङ र त्यसपछि अन्यको पनि परीक्षण गर्दैछौँ।’
बिरामी लिएर आउँदा एक जना मात्र साथी आउनुपर्ने गौतमको भनाइ छ। अस्पतालमा भिडभाड हुन नदिने तयारी गरिएको जानकारी दिए।
भरतपुरत अस्पतालमा डाक्टरहरुलाई कोरोना सङ्क्रमण भएपछि ओपिडी सेवामा प्रभाव पार्न थालेको छ। प्रसूति तथा स्त्रीरोग विभागका डा पोखरेललाई नै शनिबार कोरोना सङ्क्रमणको पुष्टि भएपछि आइतबार सो विभागको उपचार सेवा प्रभावित भएको अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए।
‘डाक्टरहरूलाई नै कोरोना देखिएपछि आइतबार केही सेवा प्रभावित भए,’ अधिकारीले भने, ‘त्यसका लागि हामीले केही योजना बनाएका छाैँ।’
अधिकारीका अनुसार भरतपुर अस्पतालले अब एकीकृत सेवा प्रदान गर्ने योजना बनाएको छ। कोभिड-१९ को प्रभाव रहेसम्म विभाग छुट्टाएर काम नगर्ने, विस्तारित आकस्मिक कक्ष सञ्चालन गर्ने तयारी अस्पतालको छ। त्यस्तै जिल्लाका साना तथा ठूला निजी अस्पतालमा समन्वय गर्ने, लेभल १ का बिरामीलाई साना अस्पताल र लेभल २ र लेभल ३ का बिरामीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने गरी काम भएको उनले बताए।
त्यस्तै अहिले चितवन जिल्लाभर ५ वटा भेन्टिलेर र ३० वटा आइसियू कक्ष छन्। अब यसलाई विस्तार गरी ७५ भेन्टिलेटर, १ सय ५० आइसियू कक्ष र ३ सय आइसोलेसन बनाउने योजना छ।
‘आज हामीले हाम्रै अस्पतालमा बैठक बसेका थियौँ,’ भरतपुर अस्पतालका अध्यक्ष अधिकारीले भने, ‘स्वास्थ्य सामाग्री थप्ने र बिरामीको अवस्थाअनुसार अस्पतालमा राखिने ट्रान्सफर गर्नुपर्ने विषयमा छलफल भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।