काठमाडौं- कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल आयल निगमको भैरहवा डिपो ५ दिनका लागि बन्द गरिएको छ। प्रदेश नं ५ प्रादेशिक कार्यालय भैरहवाका ३ जना, उक्त कार्यालय मातहतका पेट्रोलपम्पका ३ जना र हवाई इन्धन डिपोका ५ जना गरी ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल आयल निगमको भैरहवा डिपो ५ दिन र जिल्लाका पेट्रोल पम्प तथा हवाई इन्धन डिपो १ हप्ताका लागि बन्द गरिएको हो।
डिपो बन्द हुने अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगंज डिपोबाट पठाइनेछ। भैरहवा डिपोका ट्यांकर चालक र सहचालकहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्नुपर्ने भएपछि अमलेखगंज डिपोका टयांकरबाटै ढुवानी गरिने निगमले जनाएको छ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्न र सबै कर्मचारीको अनिवार्य रुपमा पिसिआर गर्न पनि निगमले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।