काठमाडौं– इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट क्रिकेट खेल बराबरीतर्फ मोडिएको छ। लगातारको वर्षा बाधक बनेको खेलमा चौथो दिन पनि सुरु भएको केही समयमै पानीको कारण रोकिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको पहिलो इनिङमा चौथो दिन मात्रै सकिएको छ। वर्षाले खेल सुरु हुँदै रोकिँदै गरेको थियो। पाकिस्तानले आफ्नो पहिलो इनिङमा सबै विकेटको क्षतिमा २३६ रन बनायो। खराब सुरुवात गरेको पाकिस्तानका लागि मोहम्मद रिजवानले ७२ रन बनाउँदै टिमलाई उकासेका थिए।
६ रन हुँदा ओपनर शान मसोदलाई एक रनमा गुमाएको पाकिस्तानले एकपछि अर्को विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन। यसअघि मसोदले पहिलो टेस्ट खेलमा १५६ रनको उच्च योगफल बनाएका थिए। तर दोस्रो टेस्ट क्रिकेटमा उनी जेम्स एन्डर्सनको सिकार बने। दोस्रो विकेट ७८ रन हुँदा कप्तान अजहर अलीलाई २० रनमा गुमाएको पाकिस्तानका लागि अविद अलीले ६० रन बनाउँदा बाबर अजामले ४७ रन बनाए।
बलिङतर्फ इंग्ल्यान्डको स्टुआर्ट ब्रोडले ४ विकेट लिँदा जेम्स एन्डर्सनले ३ लिए। पाकिस्तानलाई चौथो दिन अलआउट गरेसँगै ब्याटिङ थालेको इंग्ल्यान्डको पनि सुरुवात राम्रो हुन सकेन। पहिलो ओभरकै चौथो बलमा ओपनर रोरी बर्नस शून्यमा आउट हुँदा इंग्ल्यान्डको शून्य रन थियो। उनलाई शाहिन शाह अफ्रिदीले आउट गराए।
पाँच ओभरको समाप्तीमा एक विकेटको क्षतिमा सात रन बनाउँदा फेरि वर्षा भएपछि खेल स्थगित भएको छ। तत्काल पानी रोकिएर खेल सञ्चालन भएपनि यो खेल बराबरीतर्फ मोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।