काठमाडौं- कोभिड- १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकलाई भदौ १ गतेबाट लकडाउन गरिने भएको छ। शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ बाट एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको केन्द्रले जानकारी दिएको छ।
केन्द्रको यो निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै, सार्वजनिक सवारी र निजी सवारी साधन बन्द हुने छन्। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, सैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंकलगायतका आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ।
लकडाउनको समयमा सबै नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।