काठमाडौं-कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको एकदिवसीय र टि–२० क्रिकेट सिरिज सेप्टेम्बरमा हुने भएको छ।
दुवै देशको सहमतिमा आगामी सेप्टेम्बरमा सिरिज खेल्न अस्ट्रेलियाली टिम इंग्ल्यान्ड भ्रमणमा निस्किने छ। अस्ट्रेलियाले इंग्ल्यान्डसँग तीन खेलको एकदिवसीय र तीन खेलकै टि-२० क्रिकेट सिरिज खेल्न लागेको हो। यो सिरिज गत जुलाईमा हुनु पर्ने थियो। तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।
इंग्ल्यान्डसँग अस्ट्रेलियाले साउथह्याम्पटनमा सेप्टेम्बर ४, ६ र ८ तारिखमा टि-२० क्रिकेट सिरिज खेल्नेछ। त्यसपछि एकदिवसीय सिरिज इंग्ल्यान्डको वल्ड ट्राफोर्डमा हुनेछ। ११, १३ र १६ तारिखमा तीन खेलको एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डसँग अस्ट्रेलियाले खेल्ने तालिका छ। योभन्दा अघि इंग्ल्यान्डले पाकिस्तानसँग वल्ड ट्राफोर्डमा अगस्ट २८, ३० र सेप्टेम्बर १ तारिखमा पाकिस्तानसँग टि–२० क्रिकेट सिरिज खेल्ने तालिका छ।
५० ओभरको विश्वकप विजेता इंग्ल्यान्डले केही दिनअघि मात्रै साउथह्याम्पटनमा आयरल्यान्डसँग तीन खेलको एकदिवसीय क्रिकेट सिरिज २–१ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।