काठमाडौं– क्यारेवियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिताको टिम जमैका तलावाजका सहायक प्रशिक्षक रामनरेश सरवानले टिम छाडेका छन्।
सहायक प्रशिक्षक रामनरेशले व्यक्तिगत कारण देखाउँदै यो सिजनको सिपिएल क्रिकेट प्रतियोगिताबाट हात झिकेको जानकारी दिएका छन्। उनको स्थानमा विनोद महराज र रियन अस्टिनलाई सहायक प्रशिक्षक नियुक्त गरेको मुख्य प्रशिक्षक फ्लोयद रिफरले जानकारी दिए।
तलावाजका सिइओ जेफ मिलरले टिमको लागि निकै ठूलो नोक्सान भएको जानकारी दिए। उनले भने, ‘टिमलाई निकै ठूलो नोक्सान भएको छ। उनको दिमाग, उनको अनुभव हाम्रो लागि प्रगतिको बाटो हुने थियो। तर, अब उनी हामीसँग हुने छैनन्। यो हाम्रो लागि ठूलो झड्का हो।’
जमैका तलावाजमा नेपाली युवा स्टार खेलाडी सन्दीप लामिछाने पनि रहेका छन्। सन्दीप सिपिएल खेल्न वेष्ट इन्डिज अगस्ट १ तारिखमै पुगिसकेका छन्। तेस्रो पटक सिपिएल खेल्न लागेका सन्दीपलाई टिमले करिब एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको थियो।
सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।