काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
यीमध्ये धनुषाका तीन, काठमाडौंका एक, धादिङका एक जना, सप्तरी राजविराजका एक, कपिलवस्तुका एक जना र बारा कलैयाका एक जना रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा ९१ संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्। हालसम्म ६८.४ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ७३ हजार १सय ७९ जनाको परीक्षण भएको छ। हाल १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।