काठमाडौं– राष्ट्रिय फुटबल टिमका ११ फुटबल खेलाडीसहित २५ जनाको कोरोना भाइरस (कोभिड–१९)काे रिपाेर्ट नेगेटिभ देखिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार ११ खेलाडी, दुई टिम अफिसियल र १२ होस्टेल स्टाफको गरी कुल २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो। अब २३ खेलाडी र दुई टिम अफिसियलको कोरोना रिपोर्ट बिहीबार आउने छ।
गत सोमबार कोरोनाको लागि पाटन अस्पतालमा स्वाब दिएका खेलाडी, टिम अफिसियल र होस्टेल स्टाफको रिपोर्ट आएको हो। रिपोर्ट आउने प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन्। खेलाडीहरुमा रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन्।
एन्फाले भदौ १ गतेदेखि बन्द प्रशिक्षण थाल्ने तयारी गरेको थियो। तर, विश्वकप छनोटको दोस्रो चरणका खेलहरु नै फिफा र एएफसीले बुधबार स्थगित गर्याे। विश्वकप छनोटका खेलहरु नै स्थगित भएपछि अर्को सूचना नआएसम्मका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको तयारी पनि स्थगित भएको जानकारी दिएको छ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा आफ्नै घरेलु मैदानमा तीन वटा खेल खेल्दैछ। यसअघिको तालिकाअनुसार नेपालले असोज २२ मा चाइनिज ताइपेईविरुद्ध खेल्ने थियो। त्यस्तै, अस्ट्रेलियासँग असोज २७ गते र विश्वकप छनोटको अन्तिम खेलमा नेपालले दशरथ रंगशालामा जोर्डनसँग कात्तिक २७ गते खेल्ने तालिका थियो। तर, अब विश्वकप छनोटको खेल तालिका २०२१ मा सरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।