काठमाडौं- सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै पुनः कडाइ गर्न थालेपछि यसको असर सेयर बजारमा देखिएको छ। बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्तालाई बढ्दो कोरोना संक्रमणको दरले त्रासमा देखिएका छन्।
कोरोनाले अर्थतन्त्रमा अझै कति असर गर्छ भन्ने यकिन नहुँदा लगानीकर्ताहरु अन्योलमा परेका हुन्। सेयर बजारको ट्रेण्ड अनुसार सुधार हुने देखिए पनि अन्य अवस्था असमान्य हुँदा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।
लगानीकर्ताको अन्यौलले बुधबार कारोबार सुरु हुने बित्तिकै घट्न थालेको सेयर बजार अधिकांश समय रातो देखियो। तर अन्तिम समयमा केही सुधार हुँदा १.५१ अंकले बढेर रोकिएको छ।
सूचक समान्य सूधार हुँदा १४२५.३२ अंकमा रोकिएको छ। कारोबार रकम भने ९५ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ। आगामी दिनमा बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्ताले सेयर बिक्री गर्न नखोज्दा पनि कारोबार धेरै हुन सकेको छैन। साथै अवस्था असमान्य भएका कारणले उच्च मनोबलका साथ सेयर खरिद गर्न सक्ने अवस्था छैन। यसले गर्दा खरिद चाप पनि देखिँदैन।
बुधबार ६ वटा सूचकमा सुधार देखिएको छ। सबैभन्दा धेरै साधना लघुवित्तको सेयरमा सुधार देखिएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६ करोड २० लाख रुपैयाँको खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।