काठमाडौं-विश्वकप छनोटअन्तर्गत दोस्रो चरण तथा एसियन कप छनोट फुटबलका खेलहरु स्थगित हुने भएका छन्।
बुधबार विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) ले संयुक्त रुपमा निर्णय गर्दै २०२२ मा कतारमा आयोजना हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेलहरु स्थगित हुने जानकारी दिएको हो।
विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेल आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुँदै थियो। तर कोरोना भाइरस (कोभिड–१९) का कारण खेल तालिका सार्नु परेको एएफसीले जानकारी दिएको छ। रोकिएको खेल तालिका २०२१ मा हुने जनाइएको छ। तर तालिका भने सार्वजनिक भएको छैन।
आफ्नो मुख्य उद्देश्य नै सहभागिता जनाउने खेलाडीको सुरक्षित स्वास्थ्य भएको भन्दै एएफसीले खेल तालिका परिवर्तन गरेको उल्लेख गरेको छ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा आफ्नै घरेलु मैदानमा तीन वटा खेल खेल्दैछ। यसअघिको तालिका अनुसार नेपालले असोज २२ मा चाइनिज ताइपेईविरुद्ध खेल्दै थियो। त्यस्तै, अस्ट्रेलियासँग असोज २७ गते र विश्वकप छनोटको अन्तिम खेलमा नेपालले दशरथ रंगशालामा जोर्डनसँग कात्तिक २७ गते खेल्ने तालिका थियो।
विश्वकप छनोटकै लागि भनेर नेपाली राष्ट्रिय फुटबल टिमले भदौ १ गतेदेखि बन्द प्रशिक्षण थाल्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।