काठमाडौं–कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। जनकपुरका पूर्वमेयर कृष्ण गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा र किस्ट अस्पतालमा एक महिलाको मृत्यु भएको हो।
जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालकसमेत रहेका ७१ वर्षीय गिरीको मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो। निमोनिया, झाडापखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन ५ गते मेडिसिटी अस्पताल भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए।
साउन ७ गते उनमा कोरोना पुष्टि भएको थियो। जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको जनकपुर महानगरपालिका मेयर लालकिसोर साहले बताए। गिरी २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरका मेयर बनेका थिए।
यस्तै, ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको महिलाको मृत्यु भएको छ। टेकु काठमाडौंकी ७८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७ पुगेको छ। आजै बिहान पाटन अस्पताल र बुटबलमा २ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।