काठमाडौं- कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ वीरगञ्जमा संक्रमितको उपचारमा खटिएका नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि ३ सय ५० भन्दा बढी कर्मचारीले सामूहिक राजीनामा दिएका छन्।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामूहिक राजीनामा बुझाएका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले संक्रमितको उपचारमा चौबिसै घण्टा सक्रिय रूपमा खटेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने जस्ता कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएको बताए।
‘फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्नुपर्नेमा उल्टै आक्रमण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्ने वातावरण नभएकाले सुरक्षाको माग गर्दै सामूहिक राजीनामा बुझाइएको हो।’
नारायणी अस्पतालले नारायणी अस्थायी कोभिड अस्पतालसहित हालसम्म ११ सयभन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ। संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।
गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा आक्रमण भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि ती युवतीलाई सुरुमा एड्भान्स मेडिकेयर सेन्टरमा लगिएको थियो। त्यहाँ भर्ना गर्न नमानेपछि ती युवतीलाई नारायणी अस्पतालमा ल्याइएको थियो।
नारायणीका डाक्टर तथा नर्समा समेत संक्रमण देखिएका कारण कोरोना संक्रमितबाहेकका बिरामीलाई भर्ना गरिएको थिएन। त्यसपछि ती बिरामीलाई बयोधा अस्पतालमा लगिएको थियो। तर त्यहाँ पनि भर्ना लिन नमानेपछि नेसनल मेडिकल कलेजमा लगिएको थियो। मेडिकल कलेजले पनि भर्ना लिन नमानेपछि बिरामीका आफन्तले नारायणी अस्पतालका चिकित्सकलाई फोन गरेका थिए।
त्यसपछि अस्पतालले बिरामीलाई नारायणीकै अस्थायी कोभिड अस्पतालमा ल्याउन भनेको थियो। सोही अनुसार ती युवतीलाई कोभिड अस्पतालमा ल्याएर उपचार प्रक्रिया अगाडि बढाइएको थियो। तर उपचारका क्रममा शनिबार ती युवतीको मृत्यु भएको थियो। मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
युवतीको मृत्यु भएपछि छपकैयाका करिब एक सय जति मानिस आएर अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए। सो क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ। उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजीसमेत गरेका थिए।
अस्पतालमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।