काठमाडौं- आगामी वर्ष जापानमा हुने ओलम्पिक खेलकुदलाई मुख्य ध्यानमा राख्दै थालेको कराते खेलाडीको अभ्यास स्थगित भएको छ।
देशभर कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अभ्यास स्थगित भएको हो। सन् २०२१ मा आयोजना हुने ओलम्पिकमा पहिलो पटक कराते खेल समावेश हुँदा नेपालका अनु अधिकारी र नविन रसाइलीले प्रतिस्पर्धा गर्ने छन्। त्यसैको तयारी भइरहँदा देशभर कोरोनाको महामारी बढेपछि पुनः स्थगित गर्नु परेको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए।
प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘कोरोनाको त्रास फेरि बढेको छ। खेलकुदकै मान्छेहरुलाई पनि कोरोना संक्रमण देखिएको छ। धेरै जोखिम मोल्नु हुँदैन। त्यसैले अभ्यास स्थगित गरेका हौं।’
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपाललाई करातेमा १० स्वर्ण पदक जिताउनेमा अनु र नविन पनि थिए। १३औं साग खेलकुदमा अनुले ५० र नविन ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।
उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका अनु र नविन दुबैले नेपालमा लकडाउन सुरु हुनुभन्दा पहिले करिब एक महिना अभ्यास गरेका थिए। लकडाउनपछि स्थिति सामान्य हुँदै जाँदा प्रशिक्षक श्रेष्ठले दुबै खेलाडीलाई पुनः अभ्यास गराउँदै आएका थिए। तर फेरि कोरोनाको संक्रमण बढ्दै जादा अभ्यास रोक्नु परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।