काठमाडौं- कोरोना संक्रमितको संख्या बढेकोमा राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीसमक्ष आज राष्ट्रपति भवनमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए।
सोही अवसरमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा बताएकी थिइन्। तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी थिइन्।
राष्ट्रपतिले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।